काठमाडौं– उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले शेयर बजारमा अवाञ्छित गतिविधि हुन नदिन आवश्यक निर्देशन दिएको बताएका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा पौडेलले शेयरबजार अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएको भन्दै यसलाई प्रभाव पार्ने अवाञ्छित गतिविधि हुन नदिन आवश्यक निर्देशन दिएको बताएका हुन् । उनले शेयर किनबेचमा आएको समस्यालाई समेत अध्ययन गर्न निर्देशन दिएको जानकारी दिए ।
पौडेलले बजेट कार्यान्वयन गर्दा सुरु भएका र प्रतिफल दिने योजनमा विनियोजन हुनुपर्नेमा जोड दिए । मुलुकको आवश्यकताका आधारमा विदेशी सहायता लिएर त्यसको कार्यान्वयनमासमेत ध्यान दिनुपर्ने बताए ।
उनले शेयर बजारमा लगानी गर्दा कम्पनीको वित्तीय अवस्था विश्लेषण गर्न पनि सुझाएका छन् ।
पौडेलले शेयर बजारमा लगानी गर्नुपूर्व सम्बन्धित कम्पनीबारे बुझेर मात्रै लगानी गर्न आग्रह गरेका हुन् । ‘‘इन्साइडर ट्रेडिङ’ नगर्ने वातावरण बनाउन निर्देशन दिइसकेको छु । शेयर बजारलाई परिपक्क ढंगले अगाडि बढाउन आग्रह गर्दछु’, उनले सांसदहरूलाई आश्वस्त बनाउँदै भने ।
बैठकमा समिति सदस्य डा. प्रकाशशरण महतले शेयरबजारमा देखापर्ने अराजक गतिविधिलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् । उनले कमजोर कम्पनीको शेयर ह्वात्तै बढ्दा चलखेल भएको हुन सक्ने आशंका व्यक्त गरे ।
राष्ट्रिय अर्थतन्त्रका समसामयिक विषयमा छलफल गर्न समितिले अर्थमन्त्रीलाई बोलाएको थियो ।