काठमाडौँ । यही असोज १७ गतेपछिको मनसुनी विपदमा परी ५३ जनको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजसम्ममा मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको जानकारी दिएको छ ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले पहिरोमा परेर ४० जना, बाढीबाट ११ जना र चट्याङबाट दुई जनाको मृत्यु भएको जानकारी दिइन्। उनका अनुसार पहिरोबाट इलाममा मात्रै ३८ जनाको मृत्यु भएको छ । यस्तै, पाँचथरमा एक र काभ्रेमा एक जनाले पहिरोबाट ज्यान गुमाएका छन् ।
यस्तै बाढीबाट मृत्यु हुने ११ जनामध्ये उदयपुरमा दुई, धनुषामा दुई, तथा इलामा, पाँचथर, खोटाङ भोजपुर, मोरङ, सुनसरी र रौतहटमा एकरएक जना रहेका प्राधिकरणले जनाएको छ । प्रवक्ता महतले बाढीबाट रसुवामा चार र इलाममा एक गरी पाँच जना बेपत्ता भएका पनि जानकारी दिइन् ।
यस्तै, मनसुनी विपदमा परेर सो तीन दिनको अन्तरालमा ४७ जना घाइते भएका छन् । घाइतेमध्ये पहिरोमा परेर ३३ र चट्याङबाट १४ जना रहेका प्राधिकरणले आज सार्वजनिक गरेको अद्यावधिक मनसुनी घटना विवरणमा उल्लेख छ ।
प्राधिकरणले अस्थायी आवास, पुन:स्थापन र राहत प्रक्रियाकारबारेमा छलफल सुरु भइसकेको जानकारी दिएको छ । उक्त मनसुनी विपदमा ५० जिल्ला प्रभावित भएको थियो ।
यसपालि यही असोज १८ गते दिउँसो र रातिको समयमा मुसलधारे वर्षा हुँदा ठूलो क्षति पुर्याएको थियो । अहिले भने मनसुन बाहिरिन सुरु भइसकेको छ ।
