काठमाडौं– मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एक होटेलमा बसेर नेकपा एमालेका नेता सरोज यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि चौतर्फी विरोध भइरहेको छ ।
यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि यसको विरोध गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मधेश प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यस कार्यबाट अनुशासनको गम्भीर उल्लङ्घन भएको बताएका छन् ।उनले राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिँदै अन्यथा विधान बमोजिम कारबाही हुने बताएका छन् ।
उनले लेखेका छन्– ‘मधेश प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यो अनुशासनको गम्भीर उल्लङ्घन हो । राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ । अन्यथा विधान बमोजिम कारवाही हुने जानकारी गराउँछु।’
