काठमाडौँ । बिजुली बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समितिका दुई सदस्य पदमुक्त भएका छन् ।
डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्य कपील आचार्य र भक्तबहादुर पुनलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बोर्ड सदस्यबाट पदमुक्त गराएको हो । आफूहरूलाई इमेलमार्फत पदमुक्त गराएको पत्र आएको आचार्यले जानकारी दिए ।
लिखित स्पष्टीकरण माग गरिएका उनीहरूलाई स्पष्टीकरण चित्त नबुझ्दो र सन्तोषजनक नदेखिएको भन्दै उनीहरूलाई सोही दिन हटाउने ऊर्जामन्त्री दीपक खड्काले निर्णय गरेको स्रोतले बतायो । प्राधिकरण सञ्चालक समितिले यही साउन ७ मा उद्योगहरूमा बिजुली जोड्ने निर्णय गरेको थियो ।
तर, आचार्य र पुनले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठ्ने ग्यारेन्टी नभई काटिएको लाइन जोड्न नहुने भन्दै ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।

