काठमाडौँ -नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘आज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती। आदिकवि, जसले नेपाली मनमा रामायण रोपेर जानु भयो, नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नु भयो । नेपाली भाषामा आदिलेखन थालनी गर्नु भएका भानुभक्तप्रति नमन, स्रष्टाहरूलाई भानुजयन्तीको हार्दिक शुभकामना।’
नेपाली साहित्यका आदिकवि आचार्यको २१२औँ जन्मजयन्ती आज देश र विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन्।
उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका हुन्। विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मेका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनलाई रामायणलाई नेपालीमा रचना गर्न प्रेरित गरेको थियो। नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ।
