जिल्ला सुरक्षा समिति, मनाङको निर्णयअनुसार चामे गाउँपालिका–१ तिमाङमा अस्थायी प्रहरी विट स्थापना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख प्रहरी नायव उपरीक्षक हरि प्रसाद पौडेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति मनाङका प्रमुख चिन बहादुर घलेको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रमका बीच प्रहरी विट सञ्चालनमा ल्याइएको हो ।
उक्त कार्यक्रममा चामे गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष, प्रमुख जिल्ला अधिकारी, विभिन्न सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रमुख, स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक–विद्यार्थी, आमा समूह, युवा तथा बाल क्लबका प्रतिनिधि तथा स्थानीय भद्रभलाद्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
सोही अवसरमा इलाका प्रहरी कार्यालय क्यूपार, मनाङका लागि निःशुल्क जग्गा उपलब्ध गराउने चार जना जग्गादातालाई प्रमुख अतिथि घलेज्यूबाट दोसल्ला ओढाइ कदरपत्र प्रदान गरी सम्मान गरिएको छ ।
