राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश बुधबार दिउँसो जारी गरेका छन्।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार दिउँसो अध्यादेश जारी गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेका हुन् ।
यसअघि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएपछि, विद्यमान कानुनअनुसार नयाँ मतदाता नामावली संकलन गर्न पाइँदैन थियो।
अध्यादेश जारी भएलगत्तै अब निर्वाचन आयोगले नयाँ मतदाता नामावली संकलन गर्ने बाटो खुला भएको छ । मतदाता नामावलीमा नाम छुटेकाहरुले अब आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।
जेनजी युवा आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले ताजा जनादेशका लागि आगामी फागुन २१ गते निर्वाचन गर्ने निर्णय गरेको छ । मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ को २ मा भएको व्यवस्था संशोधनका लागि अध्यादेश ल्याइएको हो ।
उक्त दफामा ‘निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन’ भन्ने व्यवस्था उल्लेख थियो ।
