२४ भदौमा कारागारबाट भागेका कैदीबन्दीलाई कारागार प्रशासनले आजसम्म फर्कने अन्तिम म्याद दिएको छ । आजसम्म नफर्कनेमाथि कारागार नियमावलीअनुसार थप सजाय हुने भएको छ ।
गत १० असोजमा बसेको गृह मन्त्रालयको बैठकले २० असोजसम्म कारागार फर्कनेलाई थप सजाय नहुने निर्णय गरेको थियो । तर, अझै करिब ६ हजार कैदीबन्दी कारागारबाहिर छन् । २४ भदौमा करिब १३ हजार कैदीबन्दी कारागारबाट भागेका थिए । भागेकामध्ये आधा फर्किए पनि आधा अझै बाहिरै छन् ।
कारागार व्यवस्था विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार सोमबारसम्म कारागार नफर्कने कैदीबन्दीलाई कारागार ऐन, २०७९ अनुसार कारबाही हुनेछ । जसअनुसार कारागारबाट भागेको कसुरमा उनीहरूमाथि ५० प्रतिशतसम्म सजाय थप हुनेछ ।
कारागारबाट फरार भएका कैदीबन्दी पक्राउ गर्न हरेक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरिएको छ । समितिलाई खोजतलास र निगरानीलाई सघन बनाउन गृह मन्त्रालयले निर्देशन दिएको छ । फरार कैदीबन्दीलाई लुकाउनेलाई समेत कारबाही गरिने विभागले जनाएको छ । साथै कारागारबाट भागेका बन्दीहरू कतै देखेमा नजिकको प्रहरीमा खबर गर्न आग्रह गरिएको छ ।