काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बिहीबार) लुम्बिनी लायन्स र चितवन राइनोज आमने सामने हुँदैछन् ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुने यस खेलमा लुम्बिनीका कप्तान राष्ट्रिय टिमका लिडर रोहितकुमार पौडेलले टिमको नेतृत्व गर्दैछन् भने चितवनको कप्तानी कुशल मल्लले गर्नेछन् ।
पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको चितवन गति कायम राख्दै प्लेअफ पुग्ने लक्ष्यमा छ। लुम्बिनी सुखद् सुरूआत गर्न चाहन्छ।
गत संस्करणमा लुम्बिनीले सातमध्ये एक खेलमात्र जितेको थियो। चितवन राइनोज गत संस्करण प्लेअफसम्म पुगेको थियो।
गत संस्करणको लिग चरणमा चितवनविरुद्ध लुम्बिनी ३३ रनले विजयी भएको थियो। आज उक्त हारको बदला लिने दाउमा चितवन रहनेछ भने लुम्बिनी अर्काे जित हात पार्ने लक्ष्यमा छ।
