काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जारी ११औँ राष्ट्रिय महाधिवेशन नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गरेको छ । काठमाडौँको भृकुटीमण्डपमा जारी बन्दसत्रसँगै पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशन प्रतिनिधि (मतदाता) हरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ ।
आयोगका अनुसार नयाँ नेतृत्व चयनका लागि देशभरबाट चुनिएर आएका र आयोजक समितिसहित कुल २ हजार २ सय ६३ जना प्रतिनिधिले मतदान प्रक्रियामा भाग लिनेछन् । निर्वाचन आयोगले सोमबार सार्वजनिक गरेको प्रारम्भिक नामावलीअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम मतदाता सूचीको पहिलो नम्बर (क्रम संख्या १) मा रहेको छ । उनको सदस्यता नम्बर १९४ रहेको छ ।
त्यस्तै, सूचीको दोस्रो नम्बरमा ईश्वर पोखरेल, तेस्रोमा युवराज ज्ञवाली र चौथोमा अष्टलक्ष्मी शाक्य रहेका छन् । शीर्ष नेताहरू रामबहादुर थापा ‘बादल’ (पाँचौँ), विष्णुप्रसाद पौडेल (छैठौँ), सुरेन्द्रप्रसाद पाण्डे (सातौँ) र शंकर पोखरेल (नवौँ) लगायतका नेताहरूको नाम केन्द्रीय कमिटीको हैसियतमा मतदाता नामावलीको सुरुवातमै प्रकाशित गरिएको छ। नामावलीमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई र रघुवीर महासेठ लगायतका पदाधिकारीहरूको नाम पनि क्रमैसँग समावेश छ।
केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार आज (सोमबार) नै उम्मेदवारी दर्ता लगायतका निर्वाचन प्रक्रिया अघि बढ्नेछन् ।
दाबी विरोध: प्रकाशित प्रारम्भिक नामावलीमा नाम छुट भएको, सच्याउनुपर्ने वा हटाउनुपर्ने भएमा तोकिएको समयभित्र स–प्रमाण उजुरी दिन आयोगले आग्रह गरेको छ ।
अन्तिम नामावली: दाबी विरोधको प्रक्रिया सकिएपछि आजै बिहान १०:१५ बजे मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ ।
मनोनयन दर्ता: नेतृत्वका लागि आकांक्षी उम्मेदवारहरूले आज बिहान १०:३० देखि दिउँसो १:३० बजेसम्म आफ्नो उम्मेदवारी दर्ता गराउन सक्नेछन्।
उम्मेदवारको सूची: दिउँसो २:३० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ भने दाबी विरोध र फिर्ताको समय सकिएपछि साँझ ६:०० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
भोलि मतदान
महाधिवेशनको मुख्य आकर्षण मानिएको नेतृत्व चयनको मतदान प्रक्रिया भने भोलि (मंगलबार) हुनेछ । निर्वाचन तालिकाअनुसार मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म भृकुटीमण्डपमा विद्युतीय मेसिनमार्फत मतदान हुने जनाइएको छ ।
