काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय सम्हाल्दै आएका कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिएका छन्। बुधबार प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामापत्र बुझाएपछि उनले मन्त्रालयमै पत्रकार सम्मेलन गरी आफ्नो निर्णय सार्वजनिक गरेका हुन्।
घिसिङले ११५ दिनसम्म तीनवटा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेको उल्लेख गर्दै अब औपचारिक रूपमा राजनीतिमा होमिन लागेको स्पष्ट पारे। “म पदबाट बाहिरिएको छु, तर देश र जनताको पक्षबाट होइन,” उनले भने, “अब जिम्मेवार नागरिकका रूपमा राजनीतिक यात्रामा अघि बढ्छु।”
प्रधानमन्त्रीको आग्रह र जेन–जी आन्दोलनको चाहनाअनुसार आफू सरकारमा गएको बताउँदै उनले राजीनामालाई भाग्ने निर्णय नभई आत्मसम्मान, नैतिकता र सिद्धान्तसँग जोडिएको कदम भएको बताए। “कुर्सीभन्दा ठूलो आत्मसम्मान हुन्छ, सरकारभन्दा ठूलो जनता,” घिसिङको भनाइ थियो।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहमति भए पनि हालसम्म कुनै दलको औपचारिक सदस्यता नलिएको जानकारी दिए। राजनीतिक जीवनमा औपचारिक प्रवेश गरेपछि मात्र पार्टी सदस्यता लिने आफ्नो धारणा रहेको उनले स्पष्ट पारे।
पत्रकार सम्मेलनमा घिसिङले छोटो अवधिमा पनि नीतिगत सुधारको बलियो आधार तयार गरिएको दाबी गरे। रुग्ण ठेक्का तोड्ने, ठूला पूर्वाधार आयोजनामा गति दिने, विद्युत् महसुल असुलीको गलत अभ्यास अन्त्य गर्ने, विपद् व्यवस्थापनमा प्रत्यक्ष नेतृत्व गर्ने, तथा अन्तरदेशीय प्रसारण लाइन सम्झौतामार्फत ऊर्जा व्यापारको ढोका खोलिएको उनले उपलब्धिका रूपमा उल्लेख गरे।
बञ्चरेडाँडाको फोहोर व्यवस्थापन, मेलम्ची पानी आपूर्ति, कोदारी नाका पुनः सञ्चालन, बीपी राजमार्गको अस्थायी सञ्चालन, र विभिन्न सडक तथा पुल आयोजनामा आएको प्रगतिलाई पनि उनले आफ्नो कार्यकालका स्मरणयोग्य कामका रूपमा प्रस्तुत गरे।
घिसिङले आफू पदमा नरहे पनि उज्यालो नेपाल बनाउने अभियानबाट नहट्ने दोहोर्याए। “व्यक्ति बदलिन सक्छन्, तर सही सोच र सही नीति रोकिन्न,” उनले भने, “म अब अझ सशक्त रूपमा राजनीतिक यात्रामा होमिनेछु।”
