काठमाडौँ। आईसीसी टी-२० विश्वकप २०२६ को समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दै छ ।
सुरुवाती तीनवटै खेलमा हार बेहोरेको नेपाली टोली आज सान्त्वना जितको खोजीमा हुनेछ । यस्तै १२ वर्षदेखिको जितको खडेरी तोड्दै जितका साथ प्रतियोगिता टुंग्याउने लक्ष्यमा पनि नेपाल हुनेछ ।
नेपालले सन् २०१४ मा अफगानिस्तानसँगको विश्वकप खेल जितेयता टी-२० विश्वकपमा कुनै पनि खेल जित्न सकेको छैन । सन् २०२४ मा समूह चरणमा तीन वटा खेलमा हार बेहोर्दा एक खेल वर्षाका कारण हुन सकेको थिएन।
यस संस्करणमा पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध शानदार प्रदर्शन गरे पनि जितको नजिक पुगेर पराजित भएको नेपाल त्यसपछिका दुई खेलमा एकपक्षीय रूपमा पराजित भएको थियो ।
नेपाली टोलीका कन्सल्ट्यान्ट प्रशिक्षक निक पोथसले स्कटल्यान्डविरुद्ध जित निकाल्दै सकारात्मक सन्देशसहित प्रतियोगिता टुंग्याउने लक्ष्य रहेको बताएका छन् ।
