काठमाडौं । चुनाव अवधिभरका लागि मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लागेको छ । ‘मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाउने’ उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको निर्णय छ ।
यही फागुन २१ गते बिहान सात बजेदेखि मतदान सुरु हुनेछ । निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचन सुरक्षा योजना अन्तर्गत मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधनहरू, कूटनीतिक नियोगका सवारीसाधनहरू र निर्वाचनको दिनमा प्रयोग गर्ने गरी पास प्राप्त गरेका सवारीसाधन बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधनहरू सञ्चालनमा रोक लाग्नेछ । यो निर्णय फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि लागू हुनेछ ।
अत्यावश्यक सेवाका सवारीसाधनमा एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारी साधन रहेका छन् ।
