लमजुङ – राष्ट्रिय स्वतन्त्र पार्टी का लमजुङ–काठमाडौँ सम्पर्क विभाग संयोजक भोला शर्मा ले लमजुङमा सम्पन्न निर्वाचनमा परिवर्तनको पक्षमा मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद व्यक्त गरेका छन्।
निर्वाचन परिणाम सार्वजनिक भएपछि दिएको प्रतिक्रियामा उनले लामो समयदेखि पुराना राजनीतिक दलहरूको प्रभाव रहेको लमजुङ जिल्ला मा यसपटक परिवर्तनको स्पष्ट चाहना देखिएको बताएका छन्। “यो जित कुनै व्यक्ति वा पार्टीको मात्र होइन, परिवर्तन चाहने सम्पूर्ण लमजुङवासीको जित हो,” उनले भने।
उनका अनुसार सीमित आर्थिक स्रोत, ग्रामीण क्षेत्रमा कमजोर संगठन तथा समय अभावका कारण सबै स्थानमा पुग्न नसकिए पनि विभिन्न क्षेत्रका समर्थकहरूले स्वस्फूर्त रूपमा अभियानमा सक्रिय सहभागिता जनाएका थिए। काठमाडौँ, पोखरा, चितवन लगायत स्थानबाट आएका समर्थक तथा विदेशमा रहेका शुभेच्छुकहरूले आर्थिक तथा भौतिक सहयोग गरेर अभियानलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको उनले बताए।
शर्माले चुनावी अभियानका क्रममा फोन सम्पर्क गर्न नसकिएको तथा काठमाडौँबाट लमजुङसम्म समर्थकलाई यातायात व्यवस्थापन गर्न नसकिएकोमा क्षमा समेत मागेका छन्।
उनले दुधपोखरी, सुन्दरबजार, मध्यनेपाल, राइनास, दोर्दी, मर्स्याङ्दी, कोलासोथार र बेसीसहर क्षेत्रका समर्थकहरूको विशेष योगदान स्मरण गर्दै धन्यवाद व्यक्त गरेका छन्।
उनले भने, “पुराना पार्टीका साथीहरूले हाम्रो संगठन छैन भनेर प्रश्न गर्थे। तर काठमाडौँ, पोखरा, चितवन तथा विदेशबाट आएका साथीहरू नै हाम्रो संगठन बने।”
शर्माले निर्वाचित प्रतिनिधि अब केवल पार्टीको मात्र नभई सम्पूर्ण लमजुङे जनताको साझा प्रतिनिधि बन्नुपर्नेमा जोड दिए। उनले भोट दिने वा नदिने सबै नागरिकलाई समान व्यवहार गर्दै लमजुङका समस्या संसदमा उठाउन र विकासका लागि बजेट सुनिश्चित गर्नुपर्ने बताएका छन्।
उनले निर्वाचन परिणामसँगै जिम्मेवारी थपिएको उल्लेख गर्दै आगामी दिनमा सकारात्मक सहयोग र खबरदारीको अपेक्षा समेत व्यक्त गरेका छन्।
