काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवा प्रवाहमा देखिने ढिलासुस्ती, घुसखोरी र अपमानजनक व्यवहारजस्ता गतिविधिबाट पीडित नागरिकहरूलाई सिधा सम्पर्क गर्न सक्ने व्यवस्था गरेको छ। कार्यालयले एक सूचना जारी गर्दै यस्ता गतिविधिका विरुद्ध गुनासो गर्न ‘हटलाइन नम्बर’ सार्वजनिक गरेको हो।
सूचनामा भनिएको छ, “सार्वजनिक सेवा प्रवाह गर्ने कुनै पनि मन्त्रालय, कार्यालय वा निकायमा सेवाग्राहीको काममा ढिलासुस्ती, काम पन्छाउने, मोलमोलाहिजा गर्ने, घुस–रिसवत माग्ने, अनावश्यक दुःख हैरानी दिने वा अपमानजनक व्यवहार गर्ने कार्य भएमा देहायको नम्बरमा सिधा सम्पर्क गर्नुहोला।”
यसका लागि ९८५११४५०४५ नम्बरमा फोन गर्न सकिने व्यवस्था गरिएको छ।
प्रधानमन्त्री कार्यालयले यस्तो कदम सरकारी सेवा पारदर्शी, जिम्मेवार र जनउत्तरदायी बनाउने उद्देश्यले चालेको जनाएको छ। सेवाग्राहीहरूले यस्ता सेवा सम्बन्धी गुनासा राख्न सहज होस् भन्ने उद्देश्यले हटलाइन सञ्चालनमा ल्याइएको हो।
