काभ्रेपलाञ्चोक । बिपी राजमार्गमा रातको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार अब साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त राजमार्गमा निजी तथा सार्वजनिक दुवै प्रकारका सवारी साधन सञ्चालनमा प्रतिबन्ध रहनेछ।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार भकुण्डेबेँसी–खुर्कोट सडक खण्डमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्मका लागि यो निर्णय कार्यान्वयन गरिएको हो।
समितिले यात्रु तथा सवारी साधनको सुरक्षालाई प्राथमिकता दिँदै वर्षा, रोशी खोलामा बाढी आउने सम्भावना र मौसमको अवस्थालाई आधार मानेर आवश्यकता अनुसार जुनसुकै समयमा सडक बन्द गर्न सकिने जनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन तथा काभ्रेपलाञ्चोक र सिन्धुलीका प्रमुख जिल्ला अधिकारीबीचको समन्वयपछि यो निर्णय गरिएको हो।
वर्षायाममा पटक–पटक पहिरो र बाढीका कारण अवरुद्ध हुँदै आएको बिपी राजमार्ग यस वर्ष मात्रै दर्जनौँ पटक बन्द भइसकेको छ।
