काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले अब निजी क्षेत्रले घुस खुवाउन, कामकाजममा लाइन लाग्न र थुनिनु नपर्ने बताएका छन्।
अर्थ मन्त्रालयमा सोमबार नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिसँगको भेटघाटमा अर्थमन्त्री वाग्लेले यस्तो धारणा राखेका हुन्। ‘लगानी बढाउनुस्, रोजगारी बढाउनुस्, देश बनाऔँ’, उनले भने, ‘म घुस खान आएको होइन, कसैलाई खान पनि दिन्न। म अर्थतन्त्रको जहाज मोडेर देशलाई नयाँ गतिमा लैजान आएको हुँ।’
निजी क्षेत्रले अब दुःख नपाउने वाग्लेले स्पष्ट पारे। ‘हामी तपाइँहरुको सहयात्री हौँ। अब घुस खुवाउन पर्दैन, लाइन लाग्न पर्दैन’, उनले भने, ‘निजी क्षेत्रका मानिस थुनिनु पर्दैन।’
मन्त्री वाग्लेले आर्थिक बेइमानीमा अब आर्थिक जरिवाना लगाइने बताए। ‘उद्योगी–व्यापारी थुनिनु पर्दैन’, उनले भने, ‘तर, राज्य साथी र सहयात्री बन्दा निजी क्षेत्र पनि बेइमानी नहोला भन्ने अपेक्षा छ। नियोजित बेइमानी कसैले गर्छ भने त्यसमा हामी निर्मम छौँ।’
